Originally uploaded by Spider Lotus
के यो टोल अबको केहि वर्षमा पनि यस्तै नै रहला ? अवश्य नै यस्तै देखिने छैन । यो टोललाई “नायझो” टोल भनिन्छ । बुढापाकाहरूको कथनअनुसार, यो टोलको नाम नायझो राखिनुको अर्थ हो, “अगुवाहरूको टोल”। यसलाई शाब्दिक अर्थमा हेर्दा पनि, नेपाल भाषामा “नाय” भनेको “नेता, वा अगुवा” हो भने, “झो” भनेको “लाइन, अथवा लहरो” भन्ने हो ।
यो टोलको नामाङ्कन गर्दा यो टोलमा अगुवाहरू थियो पनि होला । यहाँको साँस्कृतिक परम्परा, भौगोलिक अवस्थालाई ध्यानमा राख्दा यो टोलको नाम जुराउनुमा माथि उल्लेख गरिएझैं यहाँ अलि अगुवाहरू नै पो बस्दो रहेछ कि भन्ने लाग्यो । ठूला जात्राहरू यसै टोल वरपर केन्द्रित भई हुने भएकोले पनि, पहिलेको समयमा यहाँ अलि अगुवा हुने खालेनै बस्थ्यो होला । वर्षभरिको जात्राहरू विषेश गरि यहि टोलमा नै हुन्छ । ठूला जात्राहरूमा यस टोलका टोलबासीहरूले अरू टोलका मानिसहरूभन्दा कष्ट भोग्नुपर्छ । कारण के भने नि, मन्दिरबाट लाइनमा लागेर निस्कने मुकुन्दोधारी देवहरूले यो टोल कटेर तल लाछी वा डबलीमा नपुगुन्जेल घरमा पाकेको भात पनि पस्केर दिंदैन । यसर्थमा, यहाँको टोलबासीहरू आधा दिनजसो उपबास बसेकै सरह नै हुन्छ । यो टोलको अर्को विषेशता भनेको, तल र माथि दुई लाछी वा डबली बीचमा यो अवस्थित छ । त्यसैले जात्रा-पात्रामा मानिसहरूको धेरै नै ओहोर्-दोहर भइरहन्छ । चिनेजानेका मानिसहरूलाई देखेपछि बोलाउनै पर्यो । नदेखेको जस्तो पनि गर्नु भएन । त्यसैले यहाँ एउटा अर्को प्रसँगको बारेमा केहि भन्नु ठीक होला । अरू टोलबासीहरूले यस टोलका मानिसहरूलाई कहिलेकाहीँ खिस्सि-टिउरी पनि गर्छ ।
पुरानो समयको कुरा हो, अहिलेजस्तो मान्छेहरूको राम्रो कमाइ हुँदैन । जात्रा आयो भन्छ, खर्च पनि स्वभाविकै बढ्ने नै भयो । घर-परिवारलाई नयाँ लुगाफाटा, पाहुना सत्कार गर्नै पर्यो । नजिकका नातेदारसँगको सम्बन्ध पनि बनाइनै राख्नु पर्यो । त्यति बेला छोरीचेली पनि एउटै गाउँ, टोलमा नै विबाह हुन्थ्यो । सम्धिहरूलाई पनि रिझाइराख्नु नै पर्यो । नजिकको साथीभाइलाई पनि एक कचौरा झोल पुर्याउनै पर्यो । अब गाउँघरमा हुर्के-बढेपछि कत्ति चिनाजानको मान्छे हुन्छ । सबैलाई अब मूल सडक वा टोलमा बसेको छ भन्दैमा घरमा बोलाएर साध्य पनि त हुँदैन । अनि अरू टोलका मान्छेहरू यसो घरको झ्यालमा हेरेर माथि बोलाउँछ कि भनेर आशा गर्थे रे । अनि त्यो घरको मूलिपनि हुक्कामा पाटा नै नराखी झ्यालमा बसेर तमाखु खाइ बस्थे रे । पाटा नभएको हुक्का अलि जोरले नै आवाज निकाल्छ । कसैगरि कसैले बोलाई हाले पनि हत्तपत्त नसुन्ने ! जात्रामा बजाइने विभिन्न बाजाहरूको चर्को आवाज त एक ठाउँमा छँदैछ । अब हुक्काले पनि साथ दिए पछि त, कसैले बोलाउँदा पनि कसको के लाग्थ्यो र त ? फेरि अर्को एउटा भनाइ पनि छ कि, त्यतिबेलाका आईमाईहरूलाई यस टोलमा बिहे गरेर आउने रहर हुन्थ्यो रे । यसै तस्बिरमा हेरौँ न, चौडा सडक छ – मूल सडक । उहिलेकाहरूलाई यो त कान्तिपुरी नगरिको ‘नयाँ सडक” जस्तै होला नि त । जात्रा हुने ठाउँ, अरु टोलहरूको दाँजोमा अलि बढी नै चहलपहल हुने ठाउँ । तीन ठूला गुठीहरू पनि यहीँ नै छ ।
तर यो टोलबासीको विडम्बना के भने नि, टोलको नामअनुसारको काम भने छैन । गुठीमा नाय वा हाकिम भनेको अरू टोलका नै छन् । प्रजातन्त्रपश्चात कुनै पनि अगुवा वा नेता भएर यस टोलको मान्छेले गाउँको निकाय हांक्न सकेका छैनन् । तर अहिले भने यस टोलबासीले पनि केहि गर्ला जस्तो चाहीँ छ है ।
मैले सुरूमै आफूलाई प्रश्न गरेको थिए कि यो टोल अबको केहि वर्षमा पनि यस्तै नै रहला भनी । अवश्य पनि हुँदैन । दुर्भाग्यवस, बिस्तारै यो टोलले आफ्नो मुहार फेर्दै छ । पूरानो ढाँचामा रहेका घरहरू अब कंक्रिटको भवनले बिस्थापित हुँदैछ । अहिले जसरी हेर्दा मनमोहक देखिन्छ, अबको केहि सालमा यो एउटा पाटनको भित्री टोलहरूको एउटा प्रतिविम्ब मात्रै हुनेछ । तर आशा के छ भने, यो टोलले भौतिकिरूपमा आफ्नो मुहार फेर्दा, यहाँका टोलबासीहरूको पनि टोलअनुसारको नाम र काम भएको हुनेछ । यो टोलबाट अहिले धेरै शिक्षण पेशामा समर्पित धेरै शिक्षक-शिक्षिकाहरू छन् । इन्जिनयर, समाजसेविहरू, पत्रकारिता क्षेत्रमा सकृय जनहरू, देशको प्रमुख राजनीतिक पार्टिका केन्द्रिय तहका नेताहरू पनि छन् । वकिल र व्यबसायिहरू पनि छन् । शायद अब त चिकित्सा क्षेत्रमा पनि कत्ति भाई-बहिनीहरूले छलान् मार्दै होलान् । अबका केहि वर्षमा घर फर्किंदा अहिले यो तस्बिरको जस्तो आफ्नो घर-आँगन देख्न नपाए पनि आफ्ना मान्छेहरूको समय सापेक्षिक प्रगती देखेर चित्त बुझाउने ठाउँ भने अवश्य नै होला । ।