अभिनय भनेको खेल हो ?


नौ वर्ष पूरा भएर दश वर्ष लागिसकेछ मैले कुनै पनि नेपाली चलचित्र नहेरेको । त्यसयता हेर्ने कहिल्यै जाँगर पनि चलेन । हाम्रा छिमेकी ठुल्दाइको बलिउडबाट जस्ताको तस्तै नेपालीमा उतारेको, अङ्रेजीमा भन्छन् नी ‘कपी क्याट’ हेर्ने न मसँग बेकाइदाको फुर्सत थियो, न त हलसम्म पुग्ने रहर, न त पैसाको बोट ! एकाध नेपाली चलचित्र हाम्रो देशको वस्तुपरक छ, बाँकी सबै उही हो – अर्थ न बर्थ, गोविन्दे गाई । चलचित्र निर्माता निर्देशकले पनि चलचित्र भनेकै अरु कुनै मनोरन्जनात्मक क्षेत्रमा पहुँच नपुग्ने नेपालीका लागि मात्र हो भन्ने कुरा सोचेर बनाउँदोरहेछ की क्या हो ! एउटा सम्वाद बोलेको क्लिप मात्र हेर्दा पनि पूरा फिल्म हेर्नै नपर्ने गरि अघाउने । यु ट्युबमा पाइने भिडियो क्लिप हेर्‍यो, मनै अमिलो हुने । अभिनय गरेको देख्दा लाग्छ, यी कलाकारहरूलाई कम्तिमा एक बर्ष नाट्यशाला पठाउनु पर्ने । होईन हो जुन अभिनेता वा अभिनेत्रीले सम्बाद चलचित्रमा बोल्छ, उसले वास्तविक जीवनमा बोल्दा त्यसरिनै बोल्छ ?? कदापी त्यसरी बोल्दैन । पर्दामा यसरी नक्कल पारेर बोल्नुको कुनै तुक छैन । अनि कुनै दर्शकले र त्यो चलचित्रको बारेमा पत्र-पत्रिकामा जानकारी पाएर कसैले नेपाली चलचित्र गतिलो छैन भनेर लेख्यो वा भन्यो भने, उल्टै चलचित्रको युनिट नै बेला मौकामा संचार माध्यमहरूमा फलाक्छ र हलिउडको निर्माता-निर्देशकलाई जस्तै सबै फिल्मी ज्ञान भएको झैं टोपल्छ र टिभिमा चिच्याउँछ, “मेरो चलचित्र दर्शकहरूमाझ हिट हुन्छ । यो एकदम मार्मिक, मौलिक्, नेपाली कथानक चलचित्र हो ।” यस्तै यस्तै फलाक्न कहिल्यै छुटाउँदैन, सायद कत्तिलाई अब त फलानो निर्माता-निर्देशकले आफ्नो चलचित्र प्रदर्शनको पूर्बसन्ध्यामा के भन्छ भनेर मुखाग्र – कन्ठस्तै भैसक्यो होला !

नायक-नायिकाको कुरा गर्दा, तपाईं हामीले याद गरेका हौंला की उनीहरूले आफ्नो अन्तर्वार्तामा एउटा अचम्मको जवाफ फर्काउँछ, यदि कसैले “अचेल तपाईं के गर्दै हुनुहुन्छ” भनि सोध्यो भने । जवाफमा उनीहरु भन्छन्, “म अहिले फलानो डाइरेक्टरको फलानो फिल्म खेल्दैछु ।” के चलचित्र भनेको खेल्ने चिज हो ? अभिनय विधालाई खेलको रूपमा लिनेहरूको कहाँ प्रगती होला र ? अभिनय जीवन्त हुन नसकेको कारण शायद यो एउटा कारण पनि हो की, हाम्रा कलाकारहरू चलचित्रका केवल खेलाडी मात्र रहे तर समाज र संसारको विम्बलाई जीवन्त रूपमा उतार्न सक्ने अभिनेता रहेनन् ।

हामीलाई चलचित्र भवनसम्म गएर चलचित्र हेर्दैन भनेर दोष लगाउनु अघि हामीले किन हेरेन भन्नेतिर सम्बन्धित पक्षले एक पटक सोच्ने की नसोच्ने ? मैले यसो भन्दा ‘आफुले नहेर्ने मान्छेलाई नेपाली चलचित्रको बारेमा के थाहा ?” भन्ने लाग्दो होला । कुरा सहि हो । तर मैले नहेरेपनि म नेपाली चलचित्रहरूका समिक्षा पढिरहेको हुनेछु र सधैं पढ्ने गर्छु । हिन्दी चलचित्रको बिकास देखेर मलाई हाम्रो देशको चलचित्र क्षेत्र पनि बिकास होस् भन्ने लाग्छ । फेरी प्रश्न होला, “बिकास चाहने मान्छले हेरिदिनु पर्‍यो नी ?” यस कुरामा भने निश्चयनै मैले एउटा विवेकशिल प्राणीले गर्नुपर्ने सोच-बिचार गरेर नै भन्नुपर्नेछ । म एउटा उपभोक्ता हुँ । म विश्वास गर्छु, सबै कुराको मुल्य हुन्छ र सो अनुसारनै न घटी न कमी हुनेगरी व्यवहार हुनुपर्छ । म क्रेताको नाताले विक्रेतासँग जहिले पनि मैले तिरेको मुल्यको गुणस्तर सेवाको आशा गर्छु । विक्रेताले क्रेतालाई सन्तुष्टि प्रदान गर्न सक्दा नै विक्रेताको व्यापार्-व्यबसाय र मान, इज्जत आर्जन गर्ने हो । त्यसैले बिकासकै निम्ति भनेर गुणस्तरहिन कुराको सहि मुल्य तिर्नु अनुपयुक्त मात्र होइन, घोर मुर्खता पनि हो । किनकि यसरी गुणस्तरहिन चिजको पनि राम्रो मुल्य तिर्नु भनेको त्यो गुणस्तरहिन थोक पस्किने प्रव्रितीलाई बधावा दिनु हो ।

गएको सालमा एकदमै चर्चामा रहन सफल दुई नेपाली चलचित्र: मेरो एउटा साथी छ र कुसुमे रुमाल मध्ये आज अन्लाईन मै भएपनि मेरो एउटा साथी छ हेर्ने मौका मिल्यो । नयाँ पुस्ताका कलाकारहरूमा आशा गर्ने ठाउँ भेट्टाएँ । अभिनय स्वाभविक र सरल छ । नेपालकै सुन्दर स्थलहरूलाई राम्रोसँग पर्दामा उतारिएको रहेछ । एक-दुइ ठाउँमा हिन्दीबाट सापत लीई-लीई सम्बाद बोलेको देखिन्छ । अरु राम्रै लाग्यो । यसरी नै राम्रै चलचित्रलाई बनाउने हो भने, आम नेपालीलाई चलचित्र भवनसम्म गएर चलचित्र हेर्न जाँगर चल्छ । नभए त नेपाली चलचित्र हेर्ने जमात भनेको उही हो – मुखमा चपाइराखेको गम निकालेर सिटमा टाँस्ने, नायिकालाई बलात्कार प्रयास हुँदा, नायिका खोलामा र झरनामा निथ्रुक भिजेर भित्री कपडा देखेपछि, र नायिकालाई गुण्डाहरूको जत्थाबाट बचाउन नायक गाडी वा भटभटेमा कुदेर आएर गुण्डाहरूलाई ठोक्-ठाक पर्दा सित्थी फुक्ने ठूलै जमात मात्र बाँकी रहने हो । आशा छ, आउँदा दिनहरूमा नेपाली चलचित्रको उँभो लाग्ने छ । चलचित्रप्रति समर्पित्, ज्ञान भएको, अभिनयलाई खेलको रूपमा नलिने र अरु देशका निर्माता-निर्देशक, अभिनेता-अभिनेत्री र अरु प्रविधिकहरूबाट असल कुरामात्र सिकेर आफ्नै देशको मौलिकता झल्कने गरि चलचित्र निर्माण हुनेछ ।

Advertisements

Leave a Comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.