अनुत्तरित प्रश्न
भाग १
रात निक्कै नै छिप्पी सकेको रहेछ । बाहिर एकोहोरो टोलका भुस्स्या कुकुरहरू भुक्दैथिए । सुनसान रातलाई चिर्दै ती आवाजहरू कानको पर्दामा निरन्तर् नै थोकिरहेको थियो । एक्कासी पानी प्यास पनि लागेको थियो । खै, खराब सपनाबाट भर्खर ब्युँझेको पो थिएँ, तर सपना भने के पो हो, सम्झनै सकिनँ । नजिकको पानीको बोतल हेर्छु, रित्तै थियो । कोठा बाहिर गएर पानी पिउने जाँगर पनि चलेन । वरपर यसो पल्याक्-पुलुक हेरें तर केही पनि थिएन । खोइ किन हो झ्याल खोलेर बाहिर हेरें । बाहिर मशान झैं सुनसान । यद्दपी, सडक बत्तीको मधुरो प्रकास भने कोठामा पर्दालाई चिर्दै पसिराखेको थियो । अलि-अलि कुहिरो पनि लाग्न थालिसकेछ । अनि सडकका बत्तिहरूको वरिपरी तुँवालो लागेको झैं देखिने गरि हुस्सु डम्म परेर बस्दा पनि एक जत्था किरा-पतिङ्गरहरू पनि त्यत्तिकै झ्याम्मिरहेका थिए । त्यो कुहिरोलाई चिर्दै खुब टाढा-टाढासम्म चियाएँ । कुनै मानव आकृति त्यो सुनसान सडकको छेउ-छेउ लाग्दै निक्कै सुस्त गतिमा एकनासले अघि बढिरहेको झैं लाग्न थाल्यो । मैले आफ्नो दुबै हातले आँखालाई मिचेँ र आफ्नो भित्री गंजीको एक छेउ तान्दै आँखा पुछेँ । मलाई लाग्यो , त्यो कुनै महिलाको वास्तबिक आकृति नै थिई ।
मनमा अनेक उत्सुकता पैदा भयो । नाडीमा लगाइराखेको घडी हेरेँ । मध्यान्न रातले पनि डाँडो कट्नै लागिसकेको रहेछ । टोल-छिमेक मस्त निद्रामा छ । सारा शहर नै गहिरो निदमा छ । जाग्राम रहेका भनेका त यी भुस्स्या कुकुरहरू मात्रै हो भन्ने लाग्यो । शङ्का-उपशङ्का पनि अनेक उठ्यो । अझ एक पटक धेरै बल लगाएर नियालेँ । त्यो आकृति कता-कता चिनेको, पहिले कतै देखेको झैँ लाग्यो । तर ठम्याउन भने मैले अझै सकिराखेको थीइनँ । मन झन सशङ्कित भई व्याकुल भयो । बाहिर निस्केर उनी यस्तो रातको समयमा पनि कहाँ हिडेकी भनेर सोधौं भन्ने पनि लाग्यो । “आ, फेरि जोसुकै भए पनि के वास्ता । बाटो हिंड्ने हिंड्छन् नै । फेरि त्यो जहाँसुकै जान लागे पनि किन चाहियो र ?” यस्तै सोचिरहेँ । हुन पनि हो, यो मेरो कुनै व्यक्तिगत सरोकारको कुरा पनि त भएन । म यस्तै सोच्दै झ्याल बन्द गरि फेरि निदाउँने कोशिशमा लागेँ । खै कुन्नि, मलाई एकपल्ट फेरि झ्याल खोलेर बाहिर हेर्न उत्सुकता लाग्यो । यसो हेरेँ, त्यो आकृति अब निक्कै अघि बढ्दै आएर मेरो घरको झ्याल मुन्तिर आइपुगिसकेको रहेछ । दुर्भाग्यवष्, म परको अलि सफा देख्छु । आकृति जति नजिकिदै जान्छ, उति नै धमिलो र सबै आकृति नै हल्लिएको जस्तो हुन्छ । तै पनि अब भने त्यसलाई चिन्ने खुब प्रयत्न गरेँ ।
पछ्यौराको एक सप्को भुईमा लत्रिरहेको, सुस्त चाल्, कपाल कता मिलेका झैं त कतै अलि जिङ्रिग, मुख पनि फुस्रो तर जिउ भने चटक्क मिलेका झैं लाग्ने । तर पनि कति कमजोर र थकित देखिने । साथै, अनुहार पनि चिने झैं लाग्ने । त्यतिन्जेलसम्ममा तिनी त सडक बत्ती पार गरेर मात्र एउटा अँध्यारो छाँयामा बदली सकेकी रैछ । कति कोशिस पछि पनि थम्याउन भने सकिनँ । “थुइक्क, एक छिन् मात्र बत्ती भए ठाउँमा आइपुग्दा राम्रोसँग देख्न पाएको भए, मैले थम्याउने थिएँ,” यसरी आफैलाई गाली गरेँ “आ, जो भए पनि मलाई केको खसखस ? होला नि कोही – कहिँ जान हिँडेकी । त्यो मन्दिरमा माग्दै बस्ने सबैले मोहनी लगाएर मगज बिग्रेकी भन्ने त्यहि आईमाई होला नि !” यस्तै सोचेर म खाटमा लम्पसार परेर पल्टेँ, तर निद्रा भने फिटिक्कै परेन । त्यतिन्जेलसम्ममा मैले आशामरूलाई पनि मनमनै गाली गर्न भ्याएछु । आज दुइ दिन भयो, चस्मा लगाउन नपाएको । उसको चस्मा पसलमा बनाउन दिएको । आज बन्छ भन्यो छैन, भोली भन्यो छैन । “ओहो, अब त यो महिनाको कोठा भाँडा तिरेर बचेँको केही रकमले नयाँ चस्मा नबनाइ भएन । “म मनमनै फेरि फत्फताइरहेँ ।
मनमा धेरै कुरा खेल्न थाल्यो । लामो सुस्केर हाल्दै कोल्टे फेर्दै भनेँ, “लोग्ने-स्वास्नी बीच झगडा भएर माइत हिंडेकी होली, वा लोग्नेलाई घुर्क्याउदै घरबाट हिंडेको जस्तो मात्र गरेकी होली ।” सिरानी तान्दै अझ सम्भावित तर्कना गरेँ, “होइन हो, ओखतीमुलो नपाउने गाउँमा भए पो, घरमा कसैलाई साह्रो परेर धामि-झाँक्रीकोमा बोलाउन हिंडेकी भन्नलाई । फेरि उनको हिंडाइमा त कुनै हतास् र चटारोको कुनै लक्षण थिएन । न भोज-भतेर परेर घरमा आउन गाडी नपाएर पो हिंडेकी हो की ?” अब भने कोल्टे फेर्दै आतेस लगिसकेको थियो, “आ, हो जहाँसुकै गए पनि, आए पनि के मतलब ? चहिने कुराको पो मतलब राख्नुपर्छ । भोली उठेर कार्यालयमा बक्यौता रहेको तेत्रो काम-कुराको फर्स्यौट गर्नुपर्छ । अब सुत्नु पर्छ ।” यस्तै मनमा कुरा गुन्दै निदाउने अर्को असफल प्रयास गरेँ ।
मान्छेको मन जति सम्झाउन खोज्दा पनि नहुने । शरिरमा अघिल्लो रातको अपुग निद्राको कारण थकाई त छँदैथियो, अब झन यो रातको निद्रा भङ्ग भएर कार्यालयमा कति हाइ काढेर दिन बिताउने होला भन्दै, अब बाँकी रहेको केही घण्टा भए पनि राम्ररी निदाउनुपर्योढ भनेर अर्को कोशिस गरेँ, तर प्रयास असफल नै रह्यो । “होइन हो, त्यो आईमाई कतै आत्महत्या गर्न हिंडेकी पो हो कि, क्या हो ?” मनमा चिसो पस्यो । “त्यो उसको श्रीमती होइन? हत्तेरिका, राम्रोसँग मुख देखेको भए पो !” मनमा यस्तै सोचेर निभाइराखेको बत्ती बालेर झ्यालबाट बाहिर हेरेँ । झ्यालको पर्दा यसो के उघारेको मात्र थिएँ, अहो कुकुरहरू त झ्यालतर्फ हेर्दै बेतोडले भुक्न पो थाले । मलाई भने झनक्क कन्सरो तात्यो । ए बाबा, त्यो कुकुरलाई के पर्योे मैले झ्यालबाट हेरेर भन्ने मनमा लाग्यो ।
बाहिर हेर्छु कोही पनि देख्दिनँ । अब भने उनी निक्कै पर पुगिसकेकी हुनुपर्छ भन्ने लाग्यो मलाई । म झ्यालमै अडेस लागेर थुचुक्क बसेँ । चिसो हावाको सिरेटोले मलाइ स्पर्श गरेर बहदैथियो । आँखा अगाडि त्यहि आकृति मात्रै झल्झलि आइरहेको थियो । मेरो मन भने एकपछी अर्को तर्क-वितर्क गर्दै थियो – उनी को, किन, कहाँ, कसरि, के कारण आदि इत्यादी । एक्कासी मन चिसो भयो, “अहो, मैले झ्यालबाट बाहिर हेर्दा यत्रो लस्करै लागेर यी कुकुरहरूले मतर्फ हेरी एकनासले भुक्यो, तर ती आईमाई लखर्-लखर हिंड्दा भने, यी कुकुरहरू किन चुपचाप हँ ? कतै …? मलाई शङ्का र विष्मात एकैचोटी पर्योब । “कहाँ हुनु, पहिला बडाहरूले त भन्नुहुन्थ्यो, झन भुत-प्रेत वा त्यस्तो मृत आत्माहरू त पहिला यिनै कुकुरहरूले देख्छन् रे । अनि, त्यस्ता आत्माहरू पर निस्केको देखेपछि यिनिहरू भुक्छन्, विलाप गर्छन् रे, अनि नजिक पुगेपछि कुकुरहरू पनि डराएर आफ्नो पुच्छर टाङ्ग मुनी लुकाएर चुप लागेर बस्छन् रे ।” अब भने, मेरो आँखाबाट निद्रा झनै उठिसकेको थियो । “आ, अहिलेको युगमा पनि केको भुत-प्रेत, पिशाच अनि केको किचकन्नी ? यो ‘रे, रे, रे’ का कुराहरू पनि केको विश्वास गर्नु ?” म आफैसँगै यसरी झर्किँदै अब भने निदाउन निकै लामो-लामो स्वास तान्ने-छोड्ने गर्न थालेँ । निधार, कन्चत, र आँखाको वरपर रुघाले नाक बन्द हुँदा लगाउने विक्स् लगाउँदै एक किसिमको शितलता र आरामदायी महसुस गरि मसिनो आवाजमा स्वर्गिय स्वर-सम्रात नारायण गोपाल गुरुवाचार्यको “केही मिठो बात गर, रात त्यसै ढल्किँदैछ” भन्ने गीत टेपमा बजाइ निदाउनतिर लागेँ ।
क्रमश …