आज भन्दा लगभग १ महिना अघि मैले अनलाइन सेवामार्फत चर्चित पत्रकार तथा बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्रद्वारा लिखित पुस्तक भूमध्यरेखा अर्डर गरेको थिएँ | उक्त पुस्तकको जम्मा नेपाली रु. २८० रहेछ | सोहि पुस्तकलाई विदेशबाट अनलाइन अर्डर गर्दा जम्मा ११ डलर लाग्दो रहेछ | नेपाली दैनिक पत्र-पत्रिकामा पढेको अनुसार लेखक मिश्रले एउटा पुस्तक विक्री भए वापत आउने लेखक रोयल्टी रु. २० नेपालको पिछडीएको जाति चेपांगलाई दिने निर्णय गरेको रहेछ | उसले घोषणा गरेको यहि मन्चबाट अर्का एक उद्द्योगपति उपेन्द्र महतोले उसको व्यक्तिगत तर्फबाट अर्को रु. २० थपेर दिने निर्णय सुनाएछ | उनीहरुको यो काम सराहनीय लागेकोले मैले पनि एक प्रति अनलाइनबाट नोवेम्बेर २४ तारिखको दिनमा अर्डर गरेको थिएँ | आफ्नो बैंक खातामा गयो, १ क्लिक्क गरेको निमेष भरमै बैंकबाट पैसा नेपालको बिक्रेताको पोल्टामा पुगिसकेको जानकारी साथसाथै अबको २ हप्ता अथवा १५ दिन भित्र यहाँ आइपुग्छ भनेर जानकारी आयो | एक युग पछि यसरि नेपाली लेखकको पुस्तक किनेर पढ्न लागेकोमा मेरो मन पनि फुरुंग थियो |
अब भने मलाई त्यो २ हप्ता कहिले बित्ला र मेरो हातमा “भूमध्यरेखा” आइपुग्ला भनेर मनमा अधैर्य हुन थालिसकेको थियो | त्यो १५ दिन पनि बित्यो तर पुस्तक आज आउला छैन, भरे-भोलि आउला छैन | नभन्दै २ हप्ता, ३ हप्ता हुँदै ४ हप्ता पुग्यो, तर मेरो हातमा मैले मन लगाएर पढ्ने धोको राखेर अर्डर गरेको पुस्तक नै आइपुग्दैन | एक मनले भनें, अब त विक्रेतालाई लेख्न पो पर्यो भन्ने भयो | अर्को मनले भनें, हेर र केहि दिन अझ पर्ख भन्ने भयो | हरेक दिन मेल बक्स खोल्न जाँदा “आज त पुस्तक आयो होला” भन्ने सोचेर जान्छु, तर हातमा लग्यो शुन्य |
आज भने मैले चिठीपत्र हेर्न मेल बक्स खोल्न गईनं | मेरी श्रीमती गएर हातभरी कागज र एउटा सानो तर मोटो खाम जस्तै देखिने पाकेट पनि साथमा ल्याइन् | उनले मलाई त्यो पाकेट हातमा थमाइन् | मैले पठाउनेको ठेगाना देखिहालें | मन खुसि भयो | ढिला भए पनि आफूले मोल तिरेको चिज पाउँदा मन पनि दंगदास नै भएछ | साथमा मलाइ त्यत्ति नै दु:ख पनि लाग्यो | मेरो पाकेटको एकापट्टि साइडमा मिलाएर काटिएको रहेछ जुन हेर्ने बित्तिकै स्पष्ट हुन्छ कि त्यो सामान हवाईजहाजसम्म ओसार-पसार गर्दा त्यसरी दुर्घटनावस् च्यात्तिएको होइन भन्ने कुरा | सबै प्रकृतिलाई ध्यानमा राखेर बिचार्ने हो भने, यो पाकेट कसैले बदनियत ढंगले च्यातेर भित्र केहि बहुमुल्य वा नगद वा अन्य केहि चोर्न-लुकाउन मिल्ने चिज छ कि भनेर हेरेको हो भन्ने कुराको छनक पाइन्छ |
हुन त यो प्रथा कुनै नौलो भने होइन | विदेशबाट नेपालमा केहि सामान पठायो वा चिट्ठीमात्र पठायो भने पनि, त्यो चिट्ठीको खाम प्रायजसो काहीं न कतै गोश्वारा हुलाकको मान्छेले खोलेकै हुन्छ | पैसा चिट्ठीसंग पठाउनु कानूनसम्बद्द निषेधित नै छ | तर कथमकदाचित कसैले पठाईहाले भने पनि त्यो प्राय: गायब नै हुन्छ | अब विमानस्थलबाट एकाएक त्यत्रो ठूलो-ठूलो लग्गेज ब्यागहरू वा झोलाहरूबाट सुनको सिक्री, हार, मोति, भिडियो क्यामेरा आदि हराउने देशमा जाबो चिट्ठीको कुराको अति नै सामान्य हुने नै भयो | तर जे होस्, मेरो ख्रीष्टमस उपहार नै मानौं, किताब हातमा परेको छ, भोलि देखि पढिन्छ |
It's sort of opened already. so, nothing much had to be done to get the book out of the package.
LikeLike
That's really funny..I was right there when you opened that package.
LikeLike