“पानीमा डुबेको मान्छेलाई लिएर एम्बुलेन्स आफ्नो आवाज पर-परसम्म सुन्ने गरि बेतोडले कुदेर अस्पतालको आकस्मिक कक्ष नजिक रोक्छ । विरामीलाई हत्तनपत्त आक्स्मिक कक्षमा पुर्याएर उपचार गर्न तिर लाग्छ । केही क्षणमै उक्त व्यक्तिलाई मृत घोषणा गरिन्छ ।”
यो कुनै राष्ट्रिय दैनिक, साप्ताहिक वा पाक्षिक पत्र-पत्रिका वा रेडियो र टि.भीमा आएको समाचार होईन । यो कुनै वास्तविक घटना पनि होईन तर यो एउटा अहिले हाम्रो देश नेपाल स्वास्थ्य क्षेत्रमा हरेक दिन जसो घट्ने एउटा यथार्थ हो जहाँ एउटा सामान्य प्राथमिक उपचारमात्र गर्न सकेको भए पनि कसैलाई अकाल मृत्युबाट जोगाउन सकिन्थ्यो । आज एउटा दैनिक पत्रिकामा आएको समाचारअनुसार हाम्रा डाक्टर साहेबहरूलाई प्राथमिक उपचार पनि गर्न आउँदैन भन्ने कुराको रहस्योद्घाटन भयो । उनिहरुलाई सिकिस्त विरामी चिर्न आउँछ, सुइ हान्न पनि आउँछ, हात-खुट्टामा प्लास्टर गर्न पनि आउँछ । दाँत फुकाउने देखि शरीरका अरू अङ्ग नै फुकाउन आउने तर एउटा सामान्य प्राथमिक उपचार जसले एउटा जीवन सजिलैसँग जोगाउन सक्ने काम भने गर्न नसक्ने । होईन हो, हाम्रा डार्साहेबहरूलाई मर्नै आँटेकोलाई बचाउनभन्दा पनि दिर्घकालिन रोगले च्यापिएर बांचिरहेको व्यक्तिको उपचार गर्न मात्र आउने हो की गर्न मन पराउने हो ? मैले बुझ्न सकिनँ ।
हाम्रा डार्साहेबहरूलाई प्राथमिक उपचार सी.पी.आर विधी आउँदैन भन्ने कुरा आज थाहा पाउँदा मलाई अचम्म साथसाथै दु:ख पनि उत्तिकै लाग्यो । सी.पी.आर भनेको “कार्डियोपल्मोनरी रिससिटेसन” हो जुन विधी अपनाएर नाडीको गति बन्द भएको र स्वास्-प्रस्वास रोकिएको अवस्थामा वा रक्तसन्चार प्रवाह रोकिन गई हुन सक्ने सम्भावित दिमागको क्षति वा मृत्युबाट जोगाउन अर्को व्यक्तिद्वारा कृतिम स्वास-प्रस्वास गराउने र उचित मात्रामा छातिमा हातले दवाब सिर्जना गरि रक्तसन्चार पुन: प्रवाह गर्ने विधी हो । यो हामीले प्राथमिक तहदेखी माध्यामिक तहसम्मै यसको सैद्वान्तिक शिक्षा पाइराखेका कुरा जग जाहेर नै छ । तर त्यत्रो बर्ष चिकित्सा शास्त्र अध्येयन गर्ने हाम्रा डार्साहेबहरूलाई यसको कुनै व्यावहारिक ज्ञान छैन | पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपती डा अर्जुन कार्कीले समेत यो कुरा स्वीकार गरेका छन् कि नेपाली डार्साहेबहरूलाई सी.पी.आरको सैद्वान्तिक ज्ञानबाहेक व्यवहारिक ज्ञान छैन । राष्ट्रिय चिकित्साशास्त्र अध्ययन केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ नशा रोग विशेषज्ञ डा. जगदीशप्रसाद अग्रवालकै शब्दमा पनि, “धेरै चिकित्सकहरू यो महत्त्वपूर्ण सीप जान्दैनन्, सर्वसाधारणको त के कुरा!” यसै प्रशङ्गमा मलाई एउटा दृष्टान्त याद आयो:
एक जना व्यक्ति जीवन दर्शन सिक्न सात-समुद्र पारी गएछ । उसले सातौं वर्ष बिताइ दार्शनिक ज्ञान बोकेर घर फर्कँदै थियो । उसको गाउँ पुग्न अघि एउटा ठूलो नदी तर्नुपर्थ्यो । उसले आफ्नो पोको पन्तुर कसेर नाऊमा सवार भयो । नदी तर्दै गर्दा उसले त्यस नाऊ खियाउँदै गरेको नाउकेलाई सोध्यो, “महाशय, तपाईंलाई सुकरातको जीवन दर्शनको कुनै ज्ञान छ ?” त्यति नै बेला ठूलो पानी परेर नदीको बहाब निक्कै बढ्यो । तब नाऊकेले त्यस विद्वानलाई भने, “अहँ, मलाई यस विषयमा कुनै ज्ञान भएन ।” उनले सोधे, “हे महाजन, के तपाईंलाई नदीमा पौडिन आउँछ ? माथि निक्कै ठूलो पानी परेर यहाँ नदीको बहाब धेरै नै बढिसकेको छ । अब हामी यहाँबाट पानीमा हाम्फालेर पौडिएर मात्र ज्यान जोगाउन सक्छौं ।” यति भन्दै नाऊके नदीमा हाम फालिहाले । तर त्यो विद्द्वानलाई पौडिन नआएर डुबेर मर्यो ।
माथिको दृष्टान्तमा झैं हामीलाई सैद्वान्तिक ज्ञान भएर मात्र पुग्दैन, त्यसको व्यवहारिक ज्ञान हुनु अपरिहार्य छ । मगजमा रहेको कुरा व्यवहारमा नउतारेपछि त्यो ज्ञान पनि काम छैन । अनि हाम्रा डार्साहेबहरूले खोइ कुरा बुझ्या ? उनिहरु त यस मामिलामा हाम्रा गाउँघरका स्वास्थ्य कार्यकर्ताभन्दा पनि निम्नस्तरको छ भन्ने कुरा देखाउँछ । अर्को कुरा, यी डार्साहेबहरू कत्तिको गैर जिम्मेवार छन् भन्ने कुराको गतिलो उदाहरण पनि हो । त्यसैले डार्साहेबहरूले यो सिप सिक्नुपर्यो र व्यवहारमा लागू गर्नु पर्यो । मान्छेको अलिकति भए पनि श्वास बाँकी भए पो डार्साहेबले उपचार गर्ने, श्वासले नै विश्राम लिइसकेको छ भने, यहाँ महाशयहरू अस्पतालमा हुनुको कुनै तुक छैन । त्यसैले रोकेको स्वासलाई खोल्ने उपाय सिक्नुस् अनि अरू के-के गर्नुपर्ने हो, सुइ लगाउनुपर्ने हो कि मानिसको शरीरलाई कार्टुन बाकस खोले जस्तै चिरेर खोल्नु पर्ने, श्वास आइसकेपछि बल्ल त्यतातिर लाग्नुस् ।