खोकना महोत्सव सम्बन्धि कान्तिपुर राष्ट्रिय दैनिकमा २०६७ माघ २ मा प्रकाशित लेख जस्ताको तस्तै यहा साभार गरिएको छ |
ललितपुर, माघ २ – खोकना महोत्सवका लागि राता खुर्सानीका मालाले घरहरू झकिझकाउ पारिएको छ । स्थानीय व्यवसायीले आफ्नो प्रतिष्ठा ठान्ने ‘भुटेको तेल’ पेल्ने कोललाई गल्लीमै राखेर सजाएका छन् ।
हाकुपटासीमा सजिएका स्थानीय नेवार महिलाले हँसिलो अनुहारले चोकैमा पुगेर आगन्तुक र पर्यटकको स्वागत गरिरहेका छन् । तीनदिने महोत्सव शनिबारबाट सुरु भएको छ ।
‘तपाईंहरूले सबै घरमा एकैखाले रंग पोत्नुस्,’ परम्परागत सामान देखेर रौसिएरका पर्यटनमन्त्री शरदसिंह भण्डारीले भने, ‘होम स्टेको राम्रो व्यवस्था गर्नुस्, एक दिन म पनि बस्न आउँला ।’
ललितपुरको परम्परागत नेवारी बस्तीको प्रचारप्रसार गर्न र पर्यटक आकर्षण गर्न महोत्सव आयोजना गरिएको हो । खोकना गाविस र स्थानीय ज्यापू महागुठीले आयोजना गरेको महोत्सवका अवसरमा खोकनाको सरसफाइ गरिने, घरभित्र भण्डारमा राखिएका परम्परागत सामानलाई गल्लीसम्म ल्याएर प्रदर्शन गरिने र तोरी पेल्ने कोलको प्रचार गर्ने गाविसकी सचिव राधा ढकालले बताइन् । ‘खोकनालाई पर्यटकीय क्षेत्र बनाउन गाविसले सक्दो सहयोग गर्नेछ,’ उनले भनिन् ।
महोत्सवका संयोजक नेपाल डंगोलले यस वर्ष नेपाल भित्रिने दस लाखमध्ये एक लाख पर्यटकलाई खोकना भित्र्याउने लक्ष्य रहेको बताए । ‘खोकनाका केही परम्परागत विशेषता अन्य ठाउँमा पाइन्न,’ उनले भने, ‘त्यसबारे थाह पाउन पर्यटक यहाँ आउन जरुरी छ ।’
तीनदिने महोत्सवको पहिलो दिन स्थानीयले परम्परागत पोसाकमा नेवारी बाजासहित पर्यटकको स्वागत गरे । स्थानीयले पिढीमा बसेर हुक्काबाट तमाखु खाई वर्षौं अघिको नेवारी बस्तीको झलक देखाए । घर-घरमा खोकनाका सामान र हस्तकलाका तस्बिर प्रदर्शन गरियो । स्थानीय तेल उद्योगीले महोत्सव अवधिभर सार्वजनिक रूपमा तेल उत्पादन गरी प्रदर्शन गर्ने बताएका छन् ।
ललितपुरको पुरानो नेवार बस्ती खोकनाको विशेषता भनेको ‘शिकाली जात्रा’ हो । यहाँका स्थानीयले दसैंको अष्टमीमा धुमधाम जात्रा मनाउँछन् र पोखरीमा बाख्राको पाठो फ्याँकेर त्यसलाई प्रसादको रूपमा ग्रहण गर्छन् । खोकनामा दसैं मनाउने चलन समेत छैन ।
नेपालमा पहिलोपटक बिजुली बलेको घरसमेत खोकनामै छ । राणा प्रधानमन्त्री चन्द्रशम्शेरले फर्पिङको चन्द्रज्योति बिजुलीघरबाट उत्पादन गरेको बिजुली काठमाडौं ल्याउनुअघि परीक्षणका लागि खोकनाको घरमा तार तानेर बाल्न लगाएका थिए । सो घरलाई अहिले संग्रहालय बनाइएको छ । गाविसले बिजुलीघरको समेत प्रचारप्रसार गर्ने तयारी गरेको छ ।
भुटेको तोरीका लागि खोकनाले अर्को प्रसिद्धि कमाएको छ । ठूला उद्योगका कारण संकटमा परेका परम्परागत उद्योगलाई टिकाउनु चुनौतीपूर्ण रहेको स्थानीयहरूको भनाइ छ ।
‘हामी खोकना घुम्न आउँदा कोसेलीको रूपमा तेल किनेर लैजान सुझाव दिन्छौं,’ उनले भने, ‘यसले तेल उद्योग सञ्चालनमा सहयोग पुग्छ ।’ स्थानीयका अनुसार नेपालमा तोरी नपाएका खोकनाका तेल उद्योगहरूले विदेशबाट तोरी मगाएर आफ्नो अस्तित्व जोगाएका छन् ।
प्रकाशित मिति: २०६७ माघ ५ ०९:२१