नेपाल एउटै जाति र धर्मको देश होइन, सबैलाई चेतना भया |


३१ जनुअरी, २०११

नेपाल एउटै जाति र धर्मको देश होइन, सबैलाई चेतना भया |

ब्लग भनेको वास्तवमै आफ्नो निजी कुराहरू, विचार, भावना पोख्ने थलो हो । तर के यसो भन्दैमा कसैले कुनै पनि किसिमका संबेदनसिल कुराहरुलाई ब्लगमार्फत आफ्नो भावना र विचार भनेर व्यक्त गर्दा राम्ररी नबुझिकन हचुवाको भरमा लेख्न एउटा नागरिकको गैर जिम्मेवारीपना होईन र ? हरेक लेखकको हेर्ने र बुझ्ने दृष्टिकोण फरक हुन्छ, र फलस्वरुप आफ्नो आस्थाको केन्द्रतिर स्वभाविकरुपमा पनपक्षी भएर नै लेख्छ । कोहि लेखक धेरै नै पक्षपाती हुन्छ भने कोहि अलि संयमित भएर थोरै मात्र एक तर्फी ढल्केको हुन्छ । तर हालसालै पशुपती क्षेत्रमा किराँतहरूले लास गाड्न लग्दा पशुपति विकास क्षेत्रबाट भएको विरोध र सम्भावित झडप तरेको विषयमा आज मेरो संसार ब्लगमा ‘पशुपतिमा लास गाड्न पाउने कि नपाउने?” लेख र त्यस लेखमा गरिएका टिप्पणी पढेर मलाइ बडो अजिब लाग्यो । पाठकको टिप्पणीभन्दा पनि लेखकको अपरिपक्क्व विश्लेषण र दरिद्र मानसिकताले मलाई यो लेख्नलाई उत्प्रेरित गर्यो ।

ब्लग लेखकको लेखाईलाई पढ्दा लाग्छ, लेखक महोदयले कुनै पनि घटनालाई ब्लगमा पनि समाचारको रुपमा पस्कँदा बिषयवस्तुको सुक्ष्म विश्लेषण, त्यसको भवितवी हुनसक्ने नकारात्मक असरको कुनै पनि मतलब गरेको देखिँदैन । एकतर्फी रूपमा वकालत गरि सम्प्रेषण गरिएको उक्त लेख हिन्दू धर्मावलम्बीहरूको वाह-वाह पाउने लालसायले अभिप्रेरित झैं देखिन्छ । नेपाली ईसाई धर्मावलम्बीले किन नेपाल सरकारसँग मृत लास दफन गर्ने जग्गाको माग गर्यो, किन पशुपती क्षेत्रमा लास दफनकार्य गरिँदै आयो जस्ता कुराको अलिकति भए पनि लेखक महोदयले हेक्का राख्नुपर्थ्यो । लेखकले नै गलत मनसाय राखेर लेख लेख्दा पाठकले आफ्नो आस्थाअनुसार टिका-टिप्पणी गर्नु स्वभाविक नै हो ।

हालसालैको घटना किराँतहरूसंग सम्बन्धित हो, तर ईसाई शब्द उल्लेख गर्ने बित्तिकै अरु धर्मावलम्बिहरूको हृदयमा ईसाईहरू प्रति थप घृणा उत्पन्न गर्न सकिने र आन्तरिक संवेगलाई छिट्टै तरंगित पार्न सकिने बुझेर लेखकले जानबुझमै आफ्नो शब्दको तीर ईसाईहरूप्रति चलाएको बुझ्न कठिन छैन | धेरै पाठकहरूको टिप्पणीमा ईसाईहरूप्रतिको गुनासो हो, “किन ईसाईहरूले पशुपती क्षेत्रमा नै दफन गर्नुपर्ने, अन्य क्षेत्रमा दफन गरे हुन्न?” अनि कतिले लेखे, “हामीलाई उनिहरूको चर्च अगाडी लास पोल्न दिन्छ?” यो टिप्पणी वा प्रश्न एक जिम्मेवारी नागरिकको अनभिज्ञताको उपज हो ।

कसरि ? ईसाईहरूको लास दफन गर्ने जग्गा नभएको होईन । काठमाडौंका मण्डलीहरूले आफ्ना मण्डलीका विश्वासीहरूको दफन कार्यकै नीम्ति भनेर ललितपुरको लेले गा.वि.स.मा चिहानघारी बनाउन बिसौं रोपनी जग्गा किनेर बिगतका वर्ष-दिनहरूदेखि निरन्तर उपभोग गर्दै आइराखेको थियो । तर केहि समय अघि सो गा.वि.स.का स्थानियहरूले उक्त स्थानमा लास दफन गर्नबाट रोक लगायो । यसरि आफुहरूले लाखौं रकम तिरेर किनेको जग्गा भोग्-चलन गर्नबाट ईसाईहरूलाई रोक लगाइयो । कानूनी राज्य भएको देश भनेर भनिएको देशमा अल्पसंख्यक ईसाईहरूको सार्वभौम अधिकार खोसी अन्याय गरियो । देशमा केहि हुने बित्तिकै गाडीको चक्का जलाउने, नाराबाजि-जुलुस निकाल्ने, आन्दोलन गर्ने र सार्वजनिक सम्पत्ति तोडफोड हुने देशमा आफ्नो अधिकारबाट वञ्चित पारिँदा सम्म पनि ईसाईहरूले प्रभु येशू ख्रीष्टको शिक्षालाई शिरोपर गरि सहने काम गरे । यसरि प्रभु येशूको शिक्षा, प्रेम, अनुग्रह, शान्ति, क्षमालाई आफ्नो जीवनको कडी बनाएर व्यावहारिक जीवनमा लागू गरेर सहनसिल भएर बस्दा त्यसलाई उनिहरुको कमजोरीको रुपमा बुझियो ।

अर्को, यो देश कुनै जाति वा धर्मालम्वीको मात्र देश होईन । प्रजातान्त्रिक देशमा एउटाले हदै सुबिधा उपभोग गर्न पाउने, अर्कोले नपाउने भन्ने हुदैन । जसै इसाईहरूको अधिकारको हनन भयो, यसले उनीहरुको दफन कार्यमा निक्कै बाधा र चुनौती ल्यायो | यस विषयमा नेपाल सरकार मौन भएर बस्यो | जव यस समस्याले बिकराल रुप लियो, “जब भयो राति, तब बुढी ताती” भन्ने उखान जस्तै मुक दर्शक भएर बसिरहेको सरकारले ईसाई समाजलाई उनीहरुको लास दफन कार्यको निम्ति काठमाडौंकै अन्य क्षेत्रमा जग्गा उपलब्ध गराउने आश्वादन दिए | आफ्नो देशको कुनै पनि नागरिक, समाज, जाति, वर्ग, धर्मावलम्वीको अधिकारको रक्षा गर्ने जिम्मा यो सरकारको होइन ? यदि हो भने, उसले यो समस्या ठुलो नहुन्जेल के हेरी बस्यो ?

पाठकवृतले सम्पूर्ण तथ्य नबुझी जुन आक्रामक ढंगले टिका-टिप्पणी गर्नुभयो, उहाँहरूलाई पनि मेरो प्रश्न छ | यदि तपाईंको सहोदर आफ्नै मान्छेले तपाईंको लाखौ रकमको सम्पत्तिबाट तपाईंलाई वञ्चित पारे, तपाईं के गर्नुहुन्थ्यो ? यो जमानामा अधिकांश मानिस आफ्नो अधिकार रक्षाको निम्ति मार-काट गर्न पनि पछि हट्दैन | यदि सार्वजनिक वनमा एउटा धर्ममा आस्था राख्नेले त्यसलाई आफ्नो खुसि उपभोग गर्न पाउछ भने, अर्कोले पाउने कि नपाउने ? यदि हिन्दू साधु र दसनामीकै दफनको लागि मात्रै श्लेष्मान्तक वन छुट्याएको हो भने, सरकारले अरु धार्मिक वर्गको लागि पनि त्यसरी नै देशको अन्य स्थानमा त्यसरी नै छुट्याउनु पर्छ कि पर्दैन ?

निश्चय पनि, एउटा धर्ममा आस्था राख्नेले आफ्नो अधिकारको प्रयोग गर्दा अर्कोको अधिकार हनन भैरहेको छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्ने विषयमा मेरो दुइ मत छैन | त्यसैकारणले पनि, ईसाईहरूले बनकाली वा श्लेष्मान्तकमा लास दफन कार्य गर्दा अरूको आस्थामा धक्का नपुगोस् भनेर नै बनको भित्रि भागसम्म भीरपाखा अप्ठेरो नभनि लास बोकेर लगेर दफन गर्ने गरेको कुरा सबैलाई स्मरणीय होस् | उक्त ब्लग र त्यसमा गरिएका कति टिप्पणीहरूले गलत अफवाह फैलाउने गरि लेखिएको छ जहाँ ईसाईहरूले कहिल्यै पनि पशुपति क्षेत्रमै लास दफन गर्न पाउनुपर्छ भनेर दावी नगरेको कुरा पनि दावी गर्यो भनेर उल्लेख गरेको छ |

आज दफन गर्ने स्थान नपाएर ईसाईहरूले लास जलाउन थालिसके | देशमा शान्ति, मिलाप र सुव्यवस्थाको निम्ति हजारौँ वर्ष पूरानो संस्कारलाई पनि तिलान्जली दिए | अनि जसरि पाठकहरूले “मण्डली अगाडी लास जलाउन ईसाईहरूले दिन्छ भनेर प्रश्न गर्नुभयो,” उहाँहरूलाई पनि प्रतिप्रश्न छ, “के तपाईंहरूले लास पोलेर वातावरण दुषित भो र ग्लोबल वार्मिंगमा उल्लेख्य भूमिका खेल्यो, त्यसकारण लास पोले पनि हल्का पोलेको जस्तै गरि खोलामा बगाउँदा वा भोका जनावरको लागि छोडिदिंदा हुन्छ” भन्यो भने यहाँहरूलाई कस्तो लाग्छ ? त्यसैले यहाँ प्रश्न लास श्लेष्मान्तक वनमा दफन गर्ने वा मण्डलीको अगाडी लास जलाउन पाउने भन्ने होइन कि, ईसाईहरूले श्लेष्मान्तकमा दफन किन गर्नुपर्यो र यदि त्यहाँ दफन गर्न नदिने हो भने पनि यसको वैकल्पिक उपाय के हो, सो को व्यवस्था गरिदिनु पर्छ कि पर्दैन भन्ने हो | एकअर्कामा त्यो “इमोसनल इन्टेलिजेन्स” अवथा एकले अर्कोलाई भावनात्मक रुपमा बुझ्ने त्यो क्षमता हुनुपर्यो |

जहाँसम्म चिहान कंक्रिट, फलामको डन्डी प्रयोग गरेको बनाएको छ भन्ने कुरा उल्लेख गरिएको छ, यो सबै कपोलकल्पित र धार्मिक सहिष्णुता भड्काउने नियतले अतिरंजित प्रोपागान्डा हो | यस सवालमा या त लेखक महोदय अन्धरुपमा हिन्दु धर्मको पक्षपाति धर्मभिरु देखिन्छ, या त सस्तो प्रचारवाजीको भोको देखिन्छ | किनभने, नेपालको परिवेशमा चिहानमा कसले सानो चैत्य वा गुम्बा आकारको मठ बनाउछ भन्ने कुराको जानकारी लेखक महोदयलाई अवश्य पनि थाहा हुनुपर्ने हो |

कति पाठकवृन्दहरूले भने ईसाईहरूले आफ्नो जग्गा किनेर लास गाडे भैहाल्यो भनेर टिप्पणी गरे | यो नराम्रो सल्लाह भने होइन | तर पहिलेदेखि किनेर उपभोग गर्दै आइराखेको जग्गा नै प्रयोग गर्नबाट वञ्चित पारिएकाहरूले अब फेरि जग्गा किन्ने कुरा सजिलो जायज पनि छैन | काठमाडौं क्षेत्र वरपर सरकारले मृत लासलाइ दफन गर्ने संस्कार भएका वर्गलाई जग्गा उपलब्ध गराउने डम्फु बजाएको सुनिन्छ, तर काठमाण्डौंमा त्यस्तो कुन क्षेत्र छैन जहाँ मठ-मन्दिर छैन | आज आफ्नै जग्गा किनेर दाहसंस्कार चलाए भैगो भन्नेले भोलि फेरि अहिलेकै मुद्दा दोहर्याउछ र भन्न थाल्नेछ, “यहाँ हाम्रा देवी-देवताका मन्दिर छन् | काठमाडौं उपत्यकामा मात्र विश्व सम्पदामा सुचिमा परेको ७ स्थान छन् | त्यसैले यहाँ लास गाड्न पाइन्न” आदि इत्यादी |

त्यसैले भोलि हुन सक्ने धार्मिक असहिष्णुता र सामाजिक बिखण्डन रोक्न अहिले नै नागरिकवर्ग र सरकार आक्रोश र भावनामा बगेर होइन, तर जिम्मेवारीपूर्ण ढंगले सोचेर कदम चाल्नुपर्नेछ | सरकारले अन्य मुलुकमा जस्तै लास दफन गर्ने संस्कार भएका धर्मावलम्बिहरूको निम्ति कुनै निश्चित क्षेत्रमा चिहान बनाउनको लागि छुटै जग्गा छुटाएर दिनुपर्छ | सम्भव भएसम्म काठमाडौं वरपरका क्षेत्रमा चर्च भएका ठाउँहरूलाई खोजेर चर्च नजिकैको जग्गा चिहानको लागि छुटाएर दियो भने अझ जाति हुने देखिन्छ | भोलि हुन सक्ने सम्भावित लास तस्करीलाई पनि यसले रोक्न सक्छ | अर्को पक्ष, चिहान भन्ने बित्तिकै नेपाली जनमानसमा यसको नराम्रो छाप छ – डर छ | त्यसैले चर्च नजिक चिहान हुँदा चिहान, केवल चिहान जस्तो नदेखी एउटा सामान्य पार्कजस्तो पनि बनाउन सकिन्छ जहाँ मृत परिवारका सदस्यहरू कुनै पनि बेला आएर समय बिताउन सकून | आज विदेशमा कति चिहान वरपर खेल-मैदान छन् जहाँ परिवार र अन्य मानिसहरू खेल्न, टहल्न आउछन् | यसले मानिसको चिहानप्रतिको धारणामा पनि परिवर्तन ल्याउन सक्छ |

अर्को विकल्पस्वरूप, काठमाडौं आसपासमा अहिले तिब्रगतिमा प्रति जग्गाहरू मिचिँदै गरेको स्थानहरूमा नेपाली मण्डलीलाई चिहानघारी बनाउन सरकारले स्वीकृति दिनसक्थ्यो | यसो गर्नाले सरकारी जग्गाको अवैधरुपमा कारोवारी र मिच्ने कार्य रोक्न सकिन्थ्यो | माथि उल्लेख गरिए झैं चिहानलाई मण्डलीले पार्कजस्तै गरि वरपर रुख-विरुवा रोपी अहिलेको प्रदुर्षित काठमाडौंमा केहि हदसम्म वातावरण र पर्यायवरणको जगेर्ना पनि गर्न सकिन्थ्यो |

ईसाईजनहरूलाई बनकाली वा श्लेष्मान्तक वन नै चाहिएको होइन, तर दफन गर्नको निम्ति जग्गाको खाँचो टड्कारोरूपमा परेको हो | त्यसैले सरकारले नेपाली मण्डलीको आफ्नो जग्गा भोग-चलन गर्न पाउने अधिकार फिर्ता दिलाउन सक्नुपर्यो र भोलिका दिनमा पनि यस्तै समस्या नहोस् भनेर सरकारले नै ईसाईहरूलाई पनि अरु धर्मावलम्बीहरूले पाउने सुबिधाहरू सरह ती भौतिक सुबिधा र सुरक्षा दिनुपर्यो | होइन भने, ईसाई धर्मावलम्बीहरू आफ्नो नागरिक होइन भन्ने कुरा संसारलाई बताउनुपर्यो | नेपाल एउटै जाति र धर्मको देश होइन, सबैलाई चेतना भया |

परमेश्वरले भलाई गरून् |

Advertisements

Leave a Comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s