आज फेरी नागरिक दैनिकले अनुजाले ९१ लाख भेट्टाएर पैसा हराएको व्यक्तिलाई फर्काएको भन्ने सम्बन्धिमा भिन्नै किसिमको खबर छापेको छ | उक्त समाचारअनुसार हाल सम्म पैसा फिर्ता पाएको भन्ने पुरुशोत्तम पौडेलको तर्फबाट देश भर यस्तो हल्ला फैलिदा पनि कुनै पनि किसिमको प्रतिकृया आएको छैन | त्यसैले धेरै मानिसले यस खबरलाई अपत्यारिलो रुपमा लिएका छन् | अनुजाका आफन्त पनि उनले यसरि पैसा भेट्टाएर पनि आफूहरूलाई जानकारी नदिएको भनेर यस घटनाप्रति अनभिज्ञता प्रकट गर्छन् | इटहरीका एटीएमहरूले पनि पुरुशोत्तम नामक कसैले पनि त्यति धेरै परिमाणको रकम बैंकबाट नझिकेको बताउनाले र प्रहरीकोमा पनि यसको कुनै जानकारी नआउनाले घटना अझ रहस्यमय बन्दै गैरहेको छ | उद्धृत समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् | यसै दैनिकमा छापिएको अर्को समाचारमा यस घटनालाई केहि सुक्ष्म विश्लेषण गरिएको छ | उक्त विश्लेषण पढ्न यहाँ क्लिक गर्नुहोस् |
नागरिक दैनिकमा विश्लेषण गरिएको झैँ यो घटना अहिलेलाई रहस्यमय नै छ | तर यस घटनाको अर्को पाटोलाई केलाउन जरूरी देख्छु म | यो घटना साँच्चिकै घटेको नै हो भने पनि, देशमा अहिले बढ्दै गइरहेको हत्या-हिंसा, अपहरण, लूट, डकैतिका कारणले त्यत्रो पैसा भएको मान्छे मिडियामा आएर घटनाको पुष्टि गर्नु भनेको आफ्नो काल बोलाउनु सरह पनि त हुन सक्छ | कसैले उक्त व्यक्तिको जिउ-धन सुरक्षाको ग्यारेन्टी दिन सक्छ ? देशको मुटु मानिने, सुरक्षाको हिसाबले पनि अत्यन्त सम्बेदनशील मानिने राजधानी काठमाण्डौं मै त्यत्रो वैदेशिक कुटनैतिक नियोग भएकै स्थानमा दिन दहाडै जमिम शाहको हत्या हुदाँ पनि फितलो सुरक्षा व्यवस्था देखिसकेको अवस्थामा कसले मिडियामा आएर “हो, मेरो ९१ लाख रुपैयाँ र हिराको हार फिर्ता भएको हो” भनेर बोल्न आउने हिम्मत गर्छ ? अहिलेको अवस्थामा यसो भन्नु भनेको “आऊ, मेरो घर लुट्न आऊ” भन्नु सरह नै हो |
तर आशा गरौँ कि आउदाँ दिनमा यस घटनाको सत्य-तथ्य बाहिर आउने नै छन् |