“एक्सक्युज मी,” कसैको यो वाक्य सुनेर म झसंग भएँ | अलिकति बाटो छोडेर उक्त व्यक्तिलाई म उभिरहेको स्थानबाट शप्पिंग कार्ट ठेलेर गएको हेर्दै म पनि आफूले किनेको मालसामान बोकेर चेक आउट लाइनमा उभिन आएँ | एकछिन् त आफू कसरि त्यस्तो बिधि दिउँसै त्यत्रा मानिसको भिडमा हराएछु भन्दै सोचमग्न भएँ | कारण म आफैले पनि पत्ता लगाउन सकिनं | सोचें, धेरै थाकेर दिमागले आराम खोजेको होला | मनमा अनेक कुरा खेलाउदै बिस्तारै कार्ट ठेल्दै सुस्तरी एक पछि अर्को गर्दै आफ्नो पालो नआउन्जेल अरुले सामान किनमेल गर्दै गरेको हेर्दै थिएँ | त्यसै एकफेर लामो सुस्केरा तान्छु, अनि सोच्छु यो जिन्दगानी कहाँ, कसरि बित्ने होला ? यो परदेशमा मनको बह कसलाई सुनाउने होला ? यहाँ अर्काको दु:ख सुनिदिने र बुझिदिने कहाँ हतपति पाउनु र !
त्यसै लाइनमा उभिरहँदा, कतिखेर म त्यसरी टोलाएर बसेको होला भनेर सम्झिने कोसिस गरें | बल्ल याद आयो, म त तरकारी किनमेल गर्न पो त्यता गएको |
कि म कसरि दिउसै आफ्नो सोचमा हराएको रहेछु भन्ने कुराको याद आयो :
********************************************************
तरकारीको आइलमा गएर हप्ताभरिको लागि तरकारी किन्नुपर्यो भनेर तरकारी हेरें | आकासिएको भाऊ हेर्दा त्यत्रो तिरेर के तरकारी खाउँ झैँ लाग्यो | नजिकैको खोले सागको भाऊ हेर्दा, मनै खिन्न भएर आउँछ बा ! घरमा आमाले आफ्नै करेसाबाट ताजा-ताजा लसुन, प्याज, बकुला, आलु, चम्सुर, पालुंगो, रायो आदि साग पकाएर दिनुहुँदा पनि “यो भएन, त्यो पुगेन” भनेर गुनासो गरेको सम्झिएर ल्याउँछु | यो स्वप्न संसारको देशमा आउनु अघि कहिले पनि नखाएको खोले साग आज किन हो किन यो जिब्रोले चाख्ने इच्छा गरेको | मेरो घर वरपर कसैले पनि खोले साग खाएको मैले देखे-सुनेको थिइनँ | कसैले कुलो छेउ, वा खोला छेउ वा अन्यत्र कतै खोले साग टिपेर ल्याई खानुपर्ने अवस्था पनि नभएकै कारणले गर्दा पनि होला, मलाई खोले साग भन्ने बित्तिकै अलि घिन लागेर पनि आउथ्यो | आज त्यहिँ थोक किन खान मन परेको होला भन्दै एक मुठाको साढे १ डलर माया मारी कार्टमा मिकाएँ |
एक पाइला बढ्ने बित्तिकै धनियाँ, सौंफ, र अरू थुप्रै किसिमका तरकारी राखेको रहेछ | एक मुठा धनियाँ र सौंफ लिउँ जस्तो लागेर हेरें | त्यसकै छेउमा बाबरीको मुठो पनि देखेर यो पनि चाखी हेरौं भन्ने लाग्यो | भाऊ हेरें … नेपाली जिल्ल हुनैपर्ने गरि भाऊ तोकेको रैछ | एक मुठो बाबरीको २ डलर ! सौंफ त्यहिँ चिज हो जुन कुरा घरमा कहिलेकाहीँ आमाले तरकारी वा मासुमा मिलाउँदा मेरो कन्सरी तात्तेर आउँथ्यो | हुर्किसकेको छोराले खानेकुरामा गनगन गरउनु हुन्न भन्ने सोचेर म सकेसम्म एउटा-एउटा सौंफ केलाउँदै छुटाएर खाने गर्थें | आज त्यहिँ सौंफ मलाई खाने मन भएको छ | आफ्नै बारीबाट आउँदा कति नमिठो लाग्थ्यो तर आज किनेर खानुपर्दा मेरो स्वादे जिब्रोलाई त्यहिँ थोक मिठो लागेर खान पल्केको छ | घर वरपर, कम्पाउन्डको पर्खालमुनि नै पाउने बाबरी आज औसत नेपालीको एक दिनको कमाइ भन्दा महँगो गरि खानु परेको यथार्थ सम्झी म आफै टोलाउँदै थिएँ | आफ्नो घरमा हेयको दृष्टिले हेरेको, नखाएको चिज आज मिठो लाग्न थाल्यो | पल्केको जिब्रोलाई त्यसको माग अनुसार हरेक दिन यी कुराहरूको स्वाद चखाउने त अब दिवास्वप्न जस्तै भैसक्यो | त्यहिँ “एक्सक्युज मी” भन्ने कसैको आवाजले एक्कासी झसङ्ग भएर म आफ्नो देश फर्किसकेपछि हरेकदिन आफ्नै करेसाबाट यी थोकहरू खानपाउछु भन्ने दिवास्वप्नबाट म स्खलित झैँ भएँ |
विस्तारै गह्रुंगो पाइला चाल्दै पैसा तिर्ने लाइनमा उभिएँ र मनमनै भने, “सायद, मैले ती तरकारीहरू सर्भसुलभ रुपमा घरमा नै उपलब्ध भएको बेला हेयको दृष्टिले नहेरेर त्यसको भरपूर आन्दित मनले खाएको भए !”