मनोवाद: सबै नौटंकी नै रहेछ यी धर्मभिरुहरू त् !


यहाँ त नागरिक नै छैन नि । सबै कार्यकर्ता नि । फरक त्यति हो कि, कोहि नजिकको बलिया त कोहि अलि परको बाङ्गा कार्यकर्ता । दू:ख पाउने भनेकै उही यता न उताका पार्टीको झन्डा बिनाका सरल, परिश्रमी नेपाली नागरिकले त हो नि ।

“अहो, रात पनि निक्कै बितिसकेको पो रहेछ । होइन, के साह्रो मनमा कुरा खेलेको हो, आज त । सुत्नै सकिनँ ।” म फेरी कोल्टे फेर्छु र लामो सुस्केरा आउँछ “खुइया” । सुत्नलाई म अर्को असफल प्रयत्न तर्फ लाग्छु । आँखा बन्द भए पनि मन त मेरो फ़ुङ्गै छ । निन्द्रा लागे पो । “उफ, यो भूकम्प, अहँ होइन क्यारे, महाभूकम्प, – त्यो आएर त्यत्रो बिनास भएको पनि एक साता नै बितेछ । कतिको अझै केहि अत्तोपत्तो छैन भन्ने सुन्छु । होइन, त्यो सरकार अनि उसका नेताहरू पनि के गरिरा होला ? चुनाव र आन्दोलन बेला क्या गफ हाँक्थ्यो । त्यतिकै कुरै गर्न त हो नि ।” यति सोच्दा-सोच्दै मेरो रिसको पारो अलि चढ्दै गरेको महसुस गरें । सास र मुटुको गति पनि सुस्तरी बढेको जस्तो लाग्न थाल्यो । एक्कासि म बर्बराउन पो थालेछु । “थुइक्क, फटाह र लुटाहाहरू ! एक से एक खालका । न पीडितलाई सहानुभूतिको एक वचन केहि बोल्छ, न त सन्चो-बिसन्चो बुझ्न नै जान्छ ।” एकमनले फ़त्फ़ताउन थालें, “होइन हो, जनता पनि त्यहि पाराको छ नि । के रे? नेता भनेको उसको मशिहा नै हो जस्तो गरि पछि लाग्ने । यहाँ त नागरिक नै छैन नि । सबै कार्यकर्ता नि । फरक त्यति हो कि, कोहि नजिकको बलिया त कोहि अलि परको बाङ्गा कार्यकर्ता । दू:ख पाउने भनेकै उही यता न उताका पार्टीको झण्डा बिनाका सरल, परिश्रमी नेपाली नागरिकले त हो नि ।”

म यो सबै कुरा मनमै खेलाउँदै गर्दा प्यास लागेको जस्तो लागेर आउँछ । त्यतिकैमा मेरो फोनमा “टुंग” आवाज आउँछ । यसो बाह्र हात पसारेर ओछ्यान नजिकै रहेको टेबुलबाट फोन टिपेर हेर्छु । त्यसमा पनि उही त हो नि – राहत वितरणकर्ताले आफ्नो पार्टीको नजिकको कार्यकर्ता र आफन्तहरूलाई मात्र राहत वितरण गरेको कुरा एउटा साथीले सामाजिक संजालमा सम्प्रेषण गरेको मलाई जानकारी आएको रहेछ । “हिजो म सानो हुँदा, यहाँका मानिसहरू अरूलाई कस्तो दया देखाउँथ्यो । मन नै मरे पछि कसको के लाग्छ र ?” मनमा यस्तै तर्कना गर्दै सधैं एकैठाउँमा हुने पानीको भाँडा यताउति हेरें तर देखिंन । “पानी रहेन छ कि क्या हो ? आज श्रीमतीले पनि थाकेर होला ल्याउन बिर्सी जस्तो छ ।” यसो दायाँ-बायाँ हेर्दा पनि पानीको भाँडो नदेखेपछि न्यानो पलंगबाट उठेर निस्कने इच्छा नहुँदै पनि उठेर म पानी लिन जान्छु । चिसो पानीले मेरो मुख भिज्ने बित्तिकै अघि बिस्तारै चढ्दै गरेको रीसको पारो घटेको महसुस भयो ।

अब जसरि पनि निदाउनुपर्यो भन्दै म बिस्तारै ढल्कें । साथीले जानकारी गराएको कुराले मनमा फेरी पनि कुरा खेलाउन कति खेर पो सुरु भएछ, यादै पाइनँ । एक मनले भनें, “सबै कहाँ एकै मनको हुन्छ र ? यो महाभूकम्पमा कति धेरैले निस्वार्थभावले सेवा गरिरहेको कुरा देख्ने र सुन्ने मौका पनि पाएकै छ नि ।” अर्को मनले भन्छ, “नाताबाद, कृपाबादले गर्दा कति साँच्चिकै पीडितले राहत नपाएर भोकभोकै र चिसोमा रात बिताउनुपर्ने भैरहेको पनि त छ । ” यसो बिचार गर्दैगर्दा सकारात्मक पक्षभन्दा पनि नकारात्मक पक्षले मेरो मनको अन्तर्द्वन्दमा विजय हासिल गर्दै जान थालेछ । मलाई फेरी एक पटक ती मानिसहरू देखि निक्कै तितोपना बढ्न थाल्यो । मानिसहरू कति सम्म नैतिक धरातलबाट गिर्न सक्छ भन्ने देखेर एक क्षण बिचार गर्न तिर लागें । ती मानिसहरूदेखि एक हदसम्म दया र क्रोध एकै पटक जाग्न थाल्यो ।

“अचेल मानिसहरूलाई के भएको होला? हिजो-अस्ति सम्म त धेरै नै धर्मकर्म पनि गर्थ्यो । तिर्थधाम, गुम्बा, चैत्य, गिर्जाघर गएर आफ्नो आस्थाअनुसार निक्कै नै भक्तिभाव चढाउँथ्यो । आज त्यो मन कता गएछ हँ?” मेरो पनि उहि पापी मन… अर्कालाई शंका गरि दोश्याईहाल्छ । “यी अरूहरूको अघि मात्र धर्मात्मा देखिएको मात्र हो कि ? पूजापाठ लगाउने, भेटि चढाउने, दान दक्षिणा गर्ने, हप्तैपिच्छे “जयमशिह” भन्थ्यो, त्यो सबै देखाउन कै लागि मात्र होला र भने? होला पनि ।” भित्तेघडीको सुईले एक नासले फन्को मार्दा निस्केको “टिक टिक” आवाजले मेरो एकोहोरो सोचाइलाई अलि खल्बल्याएको जस्तो भान पनि भयो । एकछिन शान्त भएर बस्दा बाहिर गाडीको आवाज परपरबाट आएको पनि कानमा ठोक्किन पुग्यो । घडी हेरें । रात निक्कै पो बितिसकेको रहेछ ।

“अहो, कसरि रात कटाउने होला छ्या ! निन्द्रै पर्दैन । के गर्ने ?” फेरी पानी पिएर सुत्ने कोसिसमा लागें । आँखा र शरीर गलेर हुरुक्कै भैसकें तर निन्द्रा आउने कुनै सुर नै छैन । शरीर परदेशमा तर मन त नेपाल मै छ । के गर्नु ? लामो सुस्केरा तानेर अर्को पट्टि कोल्टे फेरें । आँखा बन्द गरें तर के निन्द्रा पर्थ्यो र ? उठेर कम्प्युटर खोलेर भूकम्प बारे समाचार पढ्नुपर्यो भन्ने पनि लाग्यो । फेरी पढेर पनि के गर्ने । त्यहि खराब समाचार बाहेक अरू केहि हुन्न भन्ने सोचेर मनमा बरु कुरा खेलाउँदै बस्छु भन्ने लाग्यो । अब मनमा कुरा खेलाउँदा खेलाउँदै मन पनि त्यस्सै थाकेर निद्रा लागिहाल्छ नि भनेर बसें ।

“आ ! मान्छेको मनमा मानवता नै नभए पछि कितावी ज्ञान मात्र पाएर पनि नहुने रहेछ क्यार । यहाँ त पूनर्जन्ममा कुकर, गधा, बोका हुनुपर्ने भन्ने शास्त्रमा बिश्वास गर्नेलाई पनि केहिको डर छैन । जस्तो कर्म उस्तै फल भनेर अरू बेला भाकल गर्थ्यो । यसपालिको भूकम्पमा त उसैलाई पनि आफ्नो देउतामा विश्वास लागेन छ, हगि ? नभए, ८४ लाख जुनीको डर त हुनुपर्ने हो नि ! लोभ, मोह, राग, इच्छा चित्तलाई मार्छु भनेर बिभिन्न ध्यान गर्ने र “बुद्धम शरणं गच्छामी” भन्नेलाई पनि यो दुषित चित्तको बशमा परि मोक्ष-निर्वाण नहोला भन्ने पिर छैन । अर्को “परमेश्वर प्रेम हुनुहुन्छ” र “तिमीहरूले यिनीहरूलाई जे गर्छौ, त्यो मलाई गरेको हो” भनि पाठ गर्ने र अनन्तको जीवन र मृत्युको बारेमा बोलेर कहिले नथाक्नेहरूलाई पनि यो बेला कुनै सुर्ता छैन । नरकको अग्नि कुण्डको बारेमा विश्वास गरे पछि त अलि सचेत हुनुपर्ने होइन र भन्या ? सबै नौटंकी नै रहेछ यी धर्मभिरुहरू त !” मेरो मनको मझेरीमा यस्तै खुरापाटी धर्मान्ध पात्रका चरित्रहरू एक पछि अर्को गर्दै एउटा लामो लर्को लगाएर आउँछ । कसलाई राम्रो भन्ने ? को सँग मासुको हृदय छ भन्ने ?

अब त बुढापाकाले भन्ने गरेको कुरा सोचेर चित्त बुझाउँछु । उनीहरू भन्थे, “जो संग जे खुबी र इलम छ, त्यहि गरेर जीवन चलाउने हो” रे नि त ! यि धर्मभिरूहरूसँग परिस्थिति अनुरुप आफ्नो चरित्र बदल्ने त्यहि सीप र कला रहेछ । प्रतिकुल परिस्थितिलाई आफू अनुकुल पारेर अवसर लिन सक्ने खुबी रहेछ । त्यसलाई इलम पनि बनाउन सक्ने रहेछ त, शास्त्र, पाठ, वचन आदि-इत्यादिले तर्साएर कहाँ काम लाग्छ र ? लाग्दो होला नि “मरे पछि को पो राजा” भन्ने उखान जस्तै भाको होला नि यी “लातका भुत बातले मान्दैन” भने जस्ता परभक्षीहरूलाई !

यसरि मनमा कुरा खेलाउँदै गर्दा राति कतिखेर निदाएछु, यादै भएन ।

Advertisements

Leave a Comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s