हिजो नेपालीहरूले नेपालकै पहिलो अन्तराष्ट्रिय कार्यक्रमबाट विशेष अधिकार प्राप्त गरि संचालन गरिएको गायन प्रतियोगिता “नेपाल आइडल” बाट पहिलो नेपाल आइडलका रूपमा पोखराका बुद्ध लामालाई पाएका छन् । आइडलको शिर्षक कै कुरा गर्ने हो भने, उनि पहिलो भने होइन । केहि वर्षअघि नेपालमै गरिएको गायन प्रतियोगिता “नेपाल आइडल” कै नाममा भएको थियो । भलै यसले विदेशी इजाजत प्राप्त नगरिकनै उहि नाउँमा त्यो कार्यक्रम गरेको थियो । तर त्यो कार्यक्रममा बिक्रम राई प्रथम भएका थिए । त्यस पछाडिका दिनमा टेलिभिजनमा “नेपाली तारा” नाममा पनि गायन प्रतियोगिता जति पनि भए, त्यसमा दीकक लिम्बू, सन्तोष लामा, र प्रताप लामा क्रमश: विजय भएका थिए । अहिले भर्खर मात्र समापन भएको “नेपाल आइडल” मा पनि उत्कृष्ट १८औं देखि नै बुद्ध लामा एक जना प्रवल दावेदारको रूपमा सामाजिक सञ्जालहरूमा खडा गर्दै पक्ष र विपक्षमा घम्साघम्सी नै भएकै हो । आज अन्तिम नतिजा हामी सबै सामू प्रकट भैसकेको छ ।
बुद्ध लामाले जितेको उनको विशुद्द गायन कला र क्षमताले हो कि होइन अथवा उनि यो नेपाल आइडलको उपाधिका लागि योग्यका छ कि छैन भन्ने बहसको अर्को पाटो हो । तर यहाँ मैले उठाउन खोजेको विषय राजनैतिक पाटोसँग जोडिएको विषय हो । पहिलेदेखि भएका यस्तै प्रतियोगिताहरू र अहिलेको यो प्रतियोगिताको नतिजालाई हेर्ने हो भने, आम दर्शक र श्रोताको भोट वा मतदानको आँकडाबाट एउटा कुरा स्पष्ट देखिन्छ कि, देशमा तामांग वा अन्य मतवालीहरूको बाहुल्यता छ । मेरो भनाइको तात्पर्य, नेपालमा तामांग बाहेक अरू थरिका मान्छेले बुद्धलाई रूचाउँदैन भन्ने होइन । उनको प्रस्तुतिले कति पटक मलाई पनि जस्तै “ऊ जितेर गई, या हारेर गई” गीत गाएर प्रभाव पारेकै थियो र फलस्वरूप मैले उनलाई समर्थनस्वरूप भोट दिएकै पनि थिएँ ।
आदिबासी जनजातिमध्ये पनि आज तामांग र अन्य मतवाली जातिले एउटा जटिल प्रश्नको राजनैतिक विश्लेषण र निकास खोज्ने बेला आएको जस्तो मलाई लाग्दछ । आफूले मन पराएका वा आफ्ना जात मिलेका एकजना संघर्षरत नव उदयमान गायकलाई आफूले खर्च गरिगरिकन जिताउन सक्ने जाति वा वर्गले भने देशको शासन बागडोर चलाउने बेला मतदान गर्दा भने जातपात वा आफ्ना नभनी आफ्नै पहिचान विरोधी उही पटक-पटक जाँची हेरीसकेर पनि नक्कली भनि चिनिसकेका काँचलाई नै हीरा भनि आफ्नो पोल्टामा बोक्दा रहेछन् । अहिले अमेरिका, युरोप, खाडी मुलुकदेखि नेपालका कुनाकाप्चामा रहेकाहरू पनि आफ्ना जातका एकजनालाई गायन प्रतियोगितामा जिताउन ठुलै लागि परेको पनि देखियो । हिजो चुनावमा र अहिले पनि हुँदै गरेको चुनावमा आफ्नो जातीय पहिचानको मुद्दामा पनि यस्तै व्यवहार देखाएको भए, आज आदिवासी जनजातिबाट पनि देशको शासन सत्तामा बलियो पकड रहन्थ्यो होला ।
के नेपालको शासन सत्तामा दशकौं देखि आसिन हुनेहरू प्रत्यक्ष निर्वाचनबाट राष्ट्रपति वा प्रधानमन्त्री चयन गर्नमा तयार नहुनुको पछाडि यहि डरले नै काम गरेको त् छैन ? यदि प्रत्यक्ष निर्वाचनबाट देशको कार्यकारिणीको छनोट गर्ने हो भने, बुद्ध र उनि अघिका विजयताहरू जस्तै त्यहि धनसारबाट नै देशको “राजनैतिक आइडल” निस्कन सक्ने सम्भावनालाई नकार्न सकिन्न । यद्दपि जातियताको राजनीति गर्नु उपयुक्त हो वा गर्नुपर्छ भन्ने मेरो आशय होइन र तर आफ्नो जातीय पहिचानलाई स्वीकार गरियोस्; जायज हक-अधिकार र आफ्नो पहिचानप्रति आदर देखाइयोस् भन्नका खातिर पनि यस्तै एकापसमा मिलापमा आउनु आवश्यक छ ।